बुधवार, 1 अगस्त 2018

ग्रामीण विकासको आधार कृषि पर्यटन

डोरबहादुर के.सी.


नेपाललाई कृषिप्रधान देश भनेर भनिरहँदा नेपालमा पर्यटनको सम्भावना त्यत्तिकै प्रवल छ ।  परम्परागत रूपमा गरिदै आएको निर्वाहमुखी कृषि प्रणालीले नेपाल अब नेपाल र नेपालीको आवश्यकता पूरा हुन नसकिरहेको कुरा हाम्रा दिन दिनै बाझो बन्दै गइरहेका जमिन र युवाको विदेश पलायने पुष्टि गर्दछ ।  एकातिर हाम्रा गाउँहरू दिनदिनै खाली बन्दै गइरहेका छन् भने अर्कोतर्फ शहरको जीवनशैली विविध कारणबाट दिन दिनै कष्टप्रद र पट्यारलाग्दो बन्दै गइरहेको छ ।  युरोप अमेरिकाजस्ता विकसित मुलुकका नागरिकमात्र होइन नेपालीहरूमा पनि भ्रमणमा निस्कने, अर्गानिक खाना खाने र ग्रामीण जीवनशैली प्रतिको आर्कषण दिन प्रतिदिन बढ्दै गइरहेको छ ।  यो छोटो पृष्ठभूमिलाई मात्र नियालेर  हेर्दा पनि कृषि पर्यटनको अवधारणा, नेपालमा यसको आवश्यकता र सम्भावनाको बारेमा केही बुझ्न सकिन्छ ।  
अबको नेपालको ग्रामीण विकासको आधार भनेको कृषि पर्यटन हो भनेरभन्दा फरक पर्ने अवस्था छैन ।  नेपालीको सरल जीवनशैली, हिमाल पहाड र तराईमा भएको विविधतायुक्त भौगोलिक बनावटमा पाइने विविधायुक्त धर्मसंस्कृति, रीतिरिवाज, परम्परा, जीवनशैली र फरक–फरक रूपमा अपनाउँदै आइरहेको कृषि प्रणाली कृषि पर्यटन विकासका आधार हुन् ।  कृषि र पर्यटनलाई एकअर्काको अन्तर सम्बन्धित र परिपूरक अङ्गको रूपमा बुझिनु नै सामान्यतयः कृषि पर्यटनको अवधारणा हो ।  एकातिर यसले कृषकलाई अनाज उत्पादन तथा पशुपालनमा आकर्षित गर्दछ भने अर्कोतर्फ पर्यटकलाई नेपालको कृषि प्रणाली तथा नेपाली ग्रामीण जीवनशैलीको बारेमा अध्ययन अनुसन्धानमा सहयोग पु¥याउनुका साथै अर्गानिक र पोषणयुक्त खानाको स्वाद समेत दिलाउँछ ।  होमस्टे पर्यटन विकासको अवधारणाले नेपालमा हाल केही चर्चा पाए पनि व्यावहारिक धरातलमा यसको  प्रयोग र विकास भने खासै भएकोे पाइँदैन यसको सार्थक प्रयोगका लागि पनि कृषि पर्यटनको विकास र प्रर्वद्धन एक महìवपूर्ण कडी हुन सक्छ ।  कृषि पर्यटन कृृषकको अतिरिक्त आम्दानीको स्रोत, प्रविधि हस्तान्तरण र क्षमता अभिवृद्धिकोे माध्यम हो ।  यसबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा आ–आफ्ना अनुभव साटासाट हुनको साथै ग्रामीण जनताको पहुँच समेत बढ्ने पक्का छ ।  बेरोजगारी, अगुवाको विदेश पलायन तथा आन्तरिक बसाइ अहिले नेपालका जटिल समस्या बन्दै गइरहेका छन् ।  हाम्रा खेतीयोग्य जमीन दिन प्रतिदिन बाझो बन्दै गइरहेको छन् ।  पशुपालनको लागि धेरै सम्भावना भए  पनि त्यसको सही प्रयोग हुन सकिरहेको छैन ।  कृषि पेशा आम नेपालीमा हेलाको हिसाबले हेरिने पेशा बनेको छ ।  तसर्थः राज्यले कृषि पर्यटनको विकासमा यथोचित ध्यान दिन सकेको खण्डमा कृषि सबैको रोजाईको विषय बन्नुको साथै नेपालको समृद्धिका लागि कोशेढुङ्गासमेत साबित हुनसक्छ ।  
नेपालमा कृषि पर्यटनको बजारको खासै समस्या छैन ।  राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा हामी सहजरूपमा प्रवेश गर्न सक्छौ तर यसको अवधारणा अनुरूपको पूर्वाधार निर्माण तथा यसको व्यवस्थापकीय कार्य कौशलतामा हाम्रो पर्याप्त लगानी र मिहिनेतको खाँचो छ ।  हाम्रा ग्रामीण घरको बनोटमा बाहिरी संरचनागत त्रुटि खासै नभए पनि आन्तरीक संरचना र व्यवस्थापनमा व्यापक परिर्वतन र सुधार गरिनु पर्दछ ।  हाम्रो गाउँघरमा खाने, बस्ने र शौंचको व्यवस्था अति सामान्य र आधारभूत स्तरमा रहेकोले यसलाई स्तर उन्नति गर्दै स्थानीय कला र संकृतिको प्रर्वद्धन हुने गरी पर्यटकीय स्तरसम्म पु¥याउनुका साथै स्थानीय जनशक्तिलाई पर्याप्त तालिमको व्यवस्था गरी व्यवस्थापकीय कार्यकौशलता र सीपको अभिवृद्धि गरिनु पर्दछ ।  बजार व्यवस्थापनको विषय हामीले तयार पारेको उत्पादनको प्रस्फुटन गर्ने कलामा भरपर्ने भएकोले स्थान तथा व्यक्ति विशेषको आधारमा विविध कार्यक्रम बनाएर अगाडि बढ्नुपर्ने हुन्छ ।  हाम्रा राष्ट्रिय र अन्तर्राष्ट्रिय ट्राभल तथा टुर अपरेटरलाई कृषि पर्यटनका विविध प्याकेज कार्यक्रम बनाएर बजार प्रवद्र्धनमा लाग्ने वातावरण तयार गर्ने र कृषि पर्यटनको कार्यक्रम लिएर जाने यस्ता सङ्घ संस्थालाई राज्यले केही सहुलियतको व्यवस्था मिलाएको खण्डमा पर्यटकलाई गाउँगाउँमा लैजाने विषयमा समस्या बन्न सक्ने छैन भने अन्तर्राष्ट्रिय पर्यटन बजारमा कृषि पर्यटन नेपालको  एउटा ब्राण्डसमेत बन्न सक्छ ।  
नेपालीको जीवनशैली अहिले दिन प्रतिदिन रूपान्तरित भइरहेको छ ।  हप्ताको एकचोटि बिदा मनाउन घर बाहिर जाने संस्कारको विकास अहिले तीव्र रूपमा भइरहेको छ ।  हाम्रा स्कुल तथा कलेजले समेत आफ्ना विद्यार्थीलाई विविध भ्रमणका कार्यक्रम तयार गरेको पाइन्छ ।  सरकारी, गैह्रसरकारी सङ्घ संस्थामा कार्यरत कर्मचारी विविध कार्यक्रम बनाएर भ्रमणमा निस्कने अहिले फेशनजस्तै बनेको छ जुन सकारात्मक पक्ष हो ।  अबको हाम्रो पहल भनेको भ्रमणमा निस्कने यी प्रत्येक पाइलालाई गाउँगाउँका र बस्तीबस्तीमा पु¥याउन सक्नुपर्छ ।  कलम र कम्प्युटरको किप्याडमा रमाउने हातलाई कम्तीमा पनि वर्षको एक दिनका लागि भएपनि हलो, कुटो, कोदालो समाएर रमाउने वातावरण तयार पारिनु पर्छ ।  के हामी आफ्ना नानीसँगै यी सुन्दर र अतिरमणीय गाउँमा वस्तिमा स्थानीय ताजा र अर्गानिक खानेकुरा खादै  एकरात बिताउन सक्दैनौ ? के हामी वर्षमा एक दिन  स्थानीय  कृषकसँगै प्रत्यक्ष रूपमा कृषि कार्यमा संलग्न भएर बिताउँदा रमाइलो नलाग्ला ? एक जना शहरीया बच्चाका लागि आफ्नै आँखाकै अगाडि भैँसीको थुनबाट दुहेको दूध पिलाउनु, काठको ठेकीमा मदानीले मन्थन गर्दै दहीबाट मही, नौनी आदि उत्पादन प्रक्रियामा संलग्न रहनु र आफैँ उपभोग गर्नु रोमाञ्चक नबन्ला ? के असारे गीतका साथ हिलोमा धान रोपाइमा सहभागी हुँदाको क्षण रोमाञ्चक नबन्ला ? के हाम्रा साथी, भाइ, बहिनी तथा छोरा छोरीको फेसबुक वालमा यी सजिव तस्वीरले स्थान 
नपाउलान ? जे होस् हामीमा कृषि पर्यटनको अपार सम्भावना छन्  खाँचो छ त केवल एउटा निश्चित दृष्टिका साथ काम गर्ने इच्छा शक्ति र राज्यपक्षको मार्गनिर्देशन र दरिलो होस्टेमा हैसेको ।   

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें