बुधवार, 1 अगस्त 2018

नेपालमा जल यातायात संभव छ

काठमाडौँ — हालै मात्र नेपालमा अन्तरदेशीय र अन्तराष्ट्रीय जल यातायातका सम्भावनाहरूका बिषयमा यदाकदा चर्चाहरू सुन्न पाइन्छ । शनिबार प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणको अवसरमा पनि जलमार्गको बारेमा सहमति भएको छ ।

परिचय
भनिरहनु नपर्ने कुरा के हो भने नेपाल जलस्रोतमा धनी देश हो । यद्यपि नेपालमा अझै पनि व्याप्त रहेको मान्यता के हो भने नेपालको विकास सडक र रेलमार्गबाटै मात्र सम्भव छ ।

केहि समय अघि नेपालमा जल यातायातको सम्भावना विषयमा मैले एक अध्यायन गरेको थिएँ, एक कार्यक्रमका सन्दर्भमा । त्यसमा मैले नेपालमै जल यातायातको अत्यन्त राम्रो सम्भावनाहरू औल्याउने अवसर पाएँ । छिमेकी मुलुक तथा नेपालको लागि तल्लो तटीय राष्ट्रको रूपमा रहेको भारतमा यसअघि नै विश्व बैंकसहितको लगानीमा अन्तरदेशीय जल यातायातको विकास भइरहेको छ । विश्व बैंकले उक्त परियोजनालाइ समग्र दक्षिण एसियाकै विकासका लागि एक महत्वपूर्ण परियोजना भनेको छ ।

यदाकदा नेपालमा कोशी उच्च बाँधको कुरा उठ्ने गर्छ । तर जसरी अहिले कोशी बाँधको कुरा उठाइएको छ, त्यो नेपालको हित प्रतिकुल छ । तर एउटा पाटोका रूपमा यदी त्यही कोशी बाँध परियोजनासंग जल यातायात पनि जोडियो र कम्तिमा हजार टन क्षमता भएका जहाजहरूलाई निर्बाध रूपमा नेपालको कुनै भेगबाट सिधा समुन्द्रसम्म पहुँच दिइयो भने उक्त परियोजना नेपालको लागि फाइदाजनक पनि हुन सक्छ । कोशी बाँधका अन्य पाटाहरू पनि नरहेका भने होइनन् ।

प्रविधिक पाटो

पानी जहाज सञ्चालनका लागि प्राथमिक रूपमा आवश्यक पानी हो । नेपालमा पानीको पर्याप्तता अनुकुल रहेकाले यो समस्या त समस्या नै होइन । अझ ठुला नदीहरू जस्तै कोशी, गण्डकी, कर्णालीका सन्दर्भमा त यो सोच्नु पर्ने बिषय नै होइन । तर पानी जहाजका लागि पानीको पर्याप्तता नै सबै कुरा होइन, यो एक आधारभूत कुरा मात्रै हो । पानी-जहाजको अपेक्षित क्षमता र आर्थिक-सामाजिक पाटोहरूको ख्याल गर्दै पानी जहाजको आकार तय गरिन्छ । तत् आकारका पानी जहाज सञ्चालनका लागि हामीले न्युनतम् रूपमा पानीको गहिराइ प्राप्त गर्नुपर्ने हुन्छ ।

नदीहरूको प्रकृति नै भोगलिक रूपमा कहि गहिरो त कहि फराक हुने गर्छ । हामीलाई आवश्यक गहिराइलाई ती फराक अनि समथल भागहरूमा नादीलाई नै खन्नु पर्ने हुन पनि सक्छ, तर यो कुनै नयाँ बिषय होइन किनभने विभिन्न ड्यामहरूको विकास संगै यो प्रविधि धेरै पटक अपनाइ सकिएको छ ।

प्रविधिक रूपमा समुन्द्रमा पानीजहाज सञ्चालन गर्नु र नदीहरूमा पानीजहाज चलाउनु नितान्त फरक कुरा हो । समुन्द्रमा गहिराइको खासै मतलब गरिंदैन तर नदीहरूमा पानीजहाज तैरनका लागि आवश्यक पानीको गहिराइ त चाहिन्छ नै, साथै नदी मुनीको जमिनी गहिराइले पनि महत्वपुर्ण काम गरिरहेको हुन्छ । उक्त गहिराइ जति कम भयो उति त्यसले पानीजहाजको गति र क्षमतामा खराब प्रभाव पारिरहेको हुन्छ ।

कतिपय अवस्थामा नदी नगबेली सरह घुम्छ । त्यस्तो घुम्तिहरूमा पनि पानीजहाजको आकार अनुसार आवश्यक व्यास-अर्धव्यासहरू फरक पर्न जान्छ । कतिपय अवस्थामा उपलब्ध घुम्तिमा पानीजहाज मोडिनै नसक्ने अवस्था पनि आउन सक्छ । ती समस्याहरू कतिपय अवस्थामा मोड फराक पारेर मात्रै पनि समाधान हुन्छ भने कतिपय अवस्थामा नदीको बहाबलाई नै सिधा हुने अर्को बाटोबाट लानु पर्ने हुन्छ।

आर्थिक पाटो

लेखिरहनु नपर्ला विश्वमै जल यातायातलाई सस्तो र भरपर्दो यातायातको माध्यमका रूपमा लिने गरिन्छ। पर्यटनको विकास र पर्यटकहरूको आवगमनमा पनि यस क्षेत्रको विकासले भरपुर फाइदा पुर्‍याउछ नै । अध्ययनहरूले अन्तरदेशीय जलमार्गको विकास सोही क्षमता भएका सडकमार्गहरूको विकास भन्दा निकै नै सस्तो पर्न जाने देखाएको छ । अवश्य नै जल यातायात सञ्चालनका लागि जल मार्ग र जल यातायातका साधन दुवैको आवश्यकता पर्दछ । सुरू अवस्थामा जल यातायातको विकासका लागि ठुलो मात्रामा पुँजीको आवश्यकता पर्छ । तर विकास पछिको सञ्चालनको अवस्थामा यो सडक मार्ग भन्दा त आधा नै अनि रेलामार्ग भन्दा पनि केहि सस्तो पर्न जान्छ । जल यातायातका साधानहरू त आवश्यकता अनुसार विश्व बजारमा सजिलै खरिद गर्न पाइन्छ ।

तर, सञ्चालन र विकास मात्रैले पनि जल यातायात सम्भव नहुन सक्छ । किनभने त्यसका लागि क्षमता पनि अत्यावश्यक हुन्छ । जसरी नेपालको अर्थतन्त्र आयात मुखी छ, र त्यो पक्षलाई विचार गर्दा नेपालले ठुलो मात्रामा आफ्नो क्षमता अभिबृद्दि गर्नुपर्ने आवश्यकता देखिन्छ । यो कुरा जल यातायातका लागि मात्र नभएर रेल यातायातका लागि पनि उत्तिकै सान्दर्भिक छ । किनभने कुनै पनि माध्यमबाट हामीले सामानहरू आयात मात्रै गरेर निर्यात गर्न सकिएन भने त्यस्तो अवस्थामा उक्त यातायात सञ्चालनको सम्पुर्ण खर्च आयातमा मात्र थोपरिन जान्छ र उक्त आयोजनाको सम्भाव्यता नै जोखिममा पर्दछ । अझ जल यातायातका सन्दर्भमा पानीको बहाब भन्दा उल्टो दिशामा अर्थात् दक्षिणबाट उत्तर आउँदा मात्रको अवस्थामा व्यायसायिक सञ्चालन गरियो भने त यो असम्भव नै हुनजान्छ, खर्च व्यवस्थापनका दृष्ट्रिकोणले (विचारणीय छ कि हामी अहिले आयात मात्र गर्छौं भन्दा त्यति अत्युक्ति नहोला) । त्यसैले यातायातका माध्यमहरूको मात्रै विकास भन्दा पनि समग्र अर्थतन्त्रकै विकास अहिलेको आवश्यकता हो र अपरिहार्यता पनि हो ।

कानुनी पाटो

नेपालमा अहिलेसम्म जल यातायातकै लागि भनेर कुनै कानुन तयार गरिएको छैन । कानुनी रूपमा थूप्रै सम्भावनाहरू त औलाइएका छन् तर कानुनी रूप चाही दिइएको छैन । नेपालमा २०२७ सालमा जल यातायातका साधनहरूको दर्ताका लागि भने एउटा ऐन ल्याइएको थियो र त्यही ऐन नै नेपालले हालसम्म कानुनी रूपमा प्रप्त गरेको सफलता हो । यही ऐनले सम्भावनाहरूको उजागर पनि गरेको छ ।

नेपालको सन्दर्भमा अध्ययनहरू

सन् १९६६ मा विदेशी र नेपाली विज्ञहरूको एक संयुक्त कार्यदलले नेपालका सन्दर्भमा जल यातायातको संभाव्यताको अध्ययन गरेको थियो । त्यो अध्ययनले नेपालका नदीहरूमा बाह्रै महिना पानीजहाज सञ्चालनका लागि पानीको-गहिराइका कारणले कम सम्भावना रहेको भनिएको थियो, अनि त्यही अध्ययनले नारायणी नदी सबैभन्दा उपयुक्त पनि भनेको थियो । यही अध्ययनकै आधारमा गण्डक बाँधमा पानीजहाजका लागि साँचो निर्माण गरिएको पनि छ । १९८० ताका यातायात मन्त्रालय अन्तरगत अन्तरदेशीय जलमार्ग विकास परियोजना पनि सञ्चालन गरिएको थियो तर विभिन्न कारणहरूले गर्दा उक्त परियोजना सफल हुन सकेन ।

हालै मात्र पनि २०१२ ताका भौतिक-पुर्वाधार र यातायात मन्त्रालयले एक अध्ययन गरेको थियो । जसले नेपालमा थुप्रै सम्भावनाहरू रहेको औलाएको थियो।

के गर्न उपयुक्त होला त?

नेपालमा जल परिवाहनको सम्भाव्यता र अध्यायनमा ठुलो अन्तर छ र सर्वप्रथम त उपलब्ध स्रोत-साधानको उचित प्रयोग गरी सम्पुर्ण नदीहरूको सन्दर्भमा तिनीहरूको वार्षिक अवस्थिती र सम्भाव्यताको अध्यायन गरी जलमर्ग विकासको गुरूयोजना निर्माण गर्नु अत्यावश्यक छ । जल यातायातको सम्पुर्ण विकास र सञ्चालनका लागि एउटा सरकारी संयन्त्रको निर्माण गरिनु अहिलेको अर्को आवश्यकता हो ।

माथि उल्लेखित प्राविधिक कुराहरू मध्यम स्तरका सामानहरू बोक्ने पानीजहाज चलाउनका लागि आवश्यक हुन् तर साना पानी जहाजहरू न्युन लगानीमै पनि तत्कालै सञ्चालन गर्त सकिने अवस्था अहिलेको हो । त्यसैले तत्कालिन रूपमा नेपालमा साना पानीजहाजहरू सञ्चालन गरी क्रमिक रूपमा मध्यम स्तरका जहाजहरू सञ्चालन गर्न सकिने गरी विकास गर्नु उपयुक्त हुन्छ ।

नेपालका लागि तल्लो तटीय देशहरू भारत र बंगलादेशसंगको सहकार्यमा समुन्द्रसम्मकै जलमार्ग विकास सबैभन्दा उपयुक्त हुनेछ जसले नेपाललाई जल यातायातकै माध्यमबाट विभिन्न देशहरूसंग सिधा सम्पर्क स्थापित गर्नेछ ।

मेरो विचारमा नेपालमा जल यातायातको विकास यसरी हुनु उपयुक्त हुन्छ । तराईमा समुन्द्रसम्मै पहुँच भएको जल यातायातको विकास अनि तराईकै कुनै सम्भावित ठाउँमा बन्दरगाहा निर्माणले नेपालका लागि एक हदसम्म समुन्द्रको पहुँच स्थापित गर्छ । नेपाली पहाडहरूमा भने जल यातायातलाई फरक रूपमा पर्यटकहरूको लागि आकर्षक हुने किसिमले विकास गर्न सकिन्छ, जस्तै र्‍याफ्टिङ । अझ ग्रामिण भेगहरूका सन्दर्भमा त यसलाई मानिसहरूले दैनिक रूपमै प्रयोग गर्ने गरी विकास गर्न सकिन्छ, र नेपालका ग्रामिण भेगलाई जल यातायातकै माध्यमबाट एक अर्कामा जोड्न सकिन्छ जुन ती ठाउँहरुलाई सडकले जोड्न भन्दा कम खर्चिलो हुन्छ नै, अनि आफैमा पृथक पनि । अझ सडक, रेल र जल यातायातलाई समग्रमा मल्टिमोडल यातायातको रूपमा पनी विकास गर्न सकिन्छ ।

आनन्द लुइँटेल

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें